साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा शानदार सुरुआत गरेको छ । समूह ‘जे’ अन्तर्गत भएको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा अभियान सुखद ढंगले सुरु गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी ले ह्टोयाट्रिक गर्दै सहज जित दिलाए मात्र होइन, विश्व फुटबल इतिहासमा अर्को ऐतिहासिक कीर्तिमान पनि आफ्नो नाममा लेखाए ।

अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै मेस्सी लगातार ६ वटा फिफा विश्वकप खेल्ने विश्वकै पहिलो खेलाडी बने । सन् २००६ मा जर्मनीमा भएको विश्वकपबाट सुरु भएको उनको विश्वकप यात्रा २०२६ सम्म आइपुग्दा लगातार ६ संस्करणमा पुगेको छ । विश्व फुटबलका धेरै महान खेलाडीले आफ्नो समयलाई प्रभुत्व जमाए पनि लगातार ६ विश्वकप खेल्ने उपलब्धि कसैले हासिल गर्न सकेका थिएनन् ।

त्यति मात्र होइन, अल्जेरियाविरुद्धको खेल मेस्सीको विश्वकप करिअरको २७औँ खेल पनि बन्यो । यससँगै उनले विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको रूपमा आफ्नो कीर्तिमानलाई अझ मजबुत बनाएका छन् । यस्तै, उनी अर्जेन्टिनाका लागि २०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो फुटबलरसमेत बनेका छन् ।

खेलमा भने सुरुदेखि नै मेस्सीको प्रभाव देखिएको थियो । १७औँ मिनेटमा उनले सुन्दर फिनिसिङमार्फत अर्जेन्टिनालाई अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा थप आक्रामक खेल प्रस्तुत गर्‍यो । खेलको ६०औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि ८६औँ मिनेटमा फेरि जाली चुमाउँदै उनले ह्याट्रिक पूरा गरे र अर्जेन्टिनाको ३–० को जित सुनिश्चित बनाए ।

विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गरेसँगै मेस्सीले अर्को ठूलो उपलब्धि पनि हासिल गरेका छन् । अल्जेरियाविरुद्धको तीन गोलपछि उनको विश्वकपमा कुल गोल संख्या १६ पुगेको छ। यससँगै उनले जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजको विश्वकपमा सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका छन् । अब मेस्सीलाई विश्वकप इतिहासको एकल सर्वाधिक गोलकर्ता बन्न केवल एक गोल आवश्यक छ ।

३९ वर्षको उमेरमा पनि मेस्सीले देखाएको प्रदर्शनले फुटबल समर्थकहरूलाई चकित बनाएको छ । सन् २०२२ मा विश्वकप जितेपछि धेरैले उनको अन्तर्राष्ट्रिय यात्रा अन्त्यतिर पुगेको अनुमान गरेका थिए । तर, विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै उनले आफू अझै पनि विश्व फुटबलका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक रहेको प्रमाणित गरेका छन् ।

लगातार ६ विश्वकप, विश्वकपमा सर्वाधिक २७ खेल, अर्जेन्टिनाका लागि २०० अन्तर्राष्ट्रिय खेल, विश्वकपमा १६ गोल र सर्वाधिक गोलको कीर्तिमान बराबरी- यी सबै उपलब्धिले मेस्सीको नामलाई फुटबल इतिहासका सर्वकालीन महान खेलाडीहरूको अग्रपंक्तिमा उभ्याएको छ । अल्जेरियाविरुद्धको ह्याट्रिक केवल अर्जेन्टिनाको जितको कथा मात्र होइन, विश्व फुटबलका एक महान खेलाडीले आफ्नो गौरवमय यात्रामा थपेको अर्को स्वर्णिम अध्याय पनि हो ।