सुगम शान्ति टाेल सुधार समितिले आफ्नाे बार्षिक साधारण सभा जेष्ठ नागरिक लाई सम्मान र बनभाेज गरि मनायाे
बिर्तामोड नगरपालिका वार्ड नं ६ अन्तर्गत रहेको सुगम शान्ति टोल सुधार समितिको छैठौं वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम आज सम्पन्न भएको छ। अर्जुनधारा स्थित सालबारी पर्यटकीय स्थलमा आज वनभोजको कार्यक्रम गरिएको थियो। सुगम शान्ति टोल सुधार समितिका अध्यक्ष
डिल्ली कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वार्ड नम्बर ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दमबाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बिर्तामोड नगरपालिका वार्ड नम्बर ६ का वडा सदस्य गीता रेग्मी, नेकपा एमालेका वीर्तामोड नगर अध्यक्ष सुभाष भट्टराई , सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल, सञ्चारकर्मी अधिवक्ता देवेन्द्र प्रसाई, अखिल नेपाल महिला सङ्घ बिर्तामोडकी यशोदा भट्टराई प्रसाई,सुगम शान्ति टोल महिला विकास संस्थाकी अध्यक्ष बिमला प्रधान बोहरा, सुगम शान्ति नौमती बाजा समूहकी अध्यक्ष सुधा आचार्य ,सुगम शान्ति जेष्ठ नागरिक समूहकी अध्यक्ष गंगा कार्की लगायतको आतित्यता रहेको थियो।
सुगम शान्तिटोलका अध्यक्ष कोइरालाले गत वर्षमा संस्थाले गरेका कार्य उपलब्धि चुनौती तथा आगामी योजनाहरू सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। अध्यक्षको प्रतिवेदनमा नियमित टोल सरसफाई कार्यक्रम, टोलबासीलाई सरसफाई अभियानमा जोड्न सफल ,फोहोर व्यवस्थापनबारे सचेतना जगाउँदै घरदैलो कार्यक्रम ,खुल्ला ठाउँ सफा र व्यवस्थित पार्किङ गर्ने सवारी साधनलाई पार्किङ क्षेत्रमा मात्र पार्किङ गर्न निर्देशन गरिएका, सडक नाला तथा ढल निकास समस्याबारे सम्बन्धित निकायमा पहल गरिएको, सामाजिक सद्भाव र आपसी सहयोग प्रवर्धन गरिएको, बिरामी दुःखी तथा आपत्कालीन अवस्थामा सहयोग गरेको, चाडपर्व तथा सामूहिक कार्यक्रममा सहकार्य गरिएको जस्ता कामहरू आफ्नो कार्यकलमा भएको प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो।
आगामी कार्यकालका बारेमा पनि योजनाहरू उहाँको प्रतिवेदनमा उल्लेख गरिएका थिए। ती योजनाहरूमा टोल सरसफाईलाई अझ नियमित र व्यवस्थित बनाउने,प्रत्येक रोडमा उपसमिति गठन गर्ने, सडक बत्ती एवं सिसी क्यामेरा जडान गर्न सम्बन्धित निकायमा पहल गर्ने, वडा कार्यालयसँग बजेट माग गरी जेष्ठ नागरिकलाई धार्मिक क्षेत्रको भ्रमण गराउने, टोलबासीको घरपरिवारभित्र आइपर्ने सुखद तथा दुःखद सम्पूर्ण कार्य सहजतापूर्वक सञ्चालन गर्न एउटा भवनको आवश्यकता महसुस गरी संस्थाकै नाममा जग्गा खरिद गर्ने र त्यसमा एउटा सुविधा सम्पन्न हलसहितको भवन निर्माण गर्ने कार्यमा जुट्न तथा आफूले सक्दो सहयोग गर्न समेत समस्त टोलबासीलाई आग्रह गर्दै अध्यक्ष कोइरालाले रु १ लाख रुपैयाँ नगद आफ्नो तर्फबाट सहयोग गर्ने घोषणा समेत गर्नुभएको थियो। कार्यक्रममा टाेल भित्र बसाेवास गर्ने जेष्ठ बुबा आमा लाई सम्मान समेत गरिएकाे थियाे।
संस्था काे उपाध्यक्ष रिमा भट्टराइ ले स्वागत गरेकाे कार्यक्रम काे सञ्चालन संस्थाका सचिव गोपाल लकान्द्री ले गर्नुभएको थियो।
