स्व.श्यामदेव ढुंगेल स्मृति प्रतिस्ठानले झापा को हो शिवशताक्षी -६ शिवगञ्जमा मा चार जना अभिभावकलाई आदर्श अभिभावक सम्मान प्रदान गरेको छ । पुस ९ गते बुधबार झापा जिल्ला को शिव शताक्षी ६मा शिवगञ्जमा रहेकोश्री जन आदर्श मावि मा आयोजित एक कार्यक्रमका बीचमा आदर्श अभिभावक शिवलाल सुवेदी, धर्मप्रसाद भेटुवाल, यमबहादुर दर्जी र चन्द्रकला सापकोटालाई जनही नगद २ हजार नेपाली रुपैयाँ सहित सम्मान गरेको हो ।

 

कोशी प्रदेशको सुनसरी काे इनरुवामा जीवनका लामो समय व्यथित गरेका पिता स्व. प्रजापति देव ढुंगेल र माता स्व. हरिमाया ढुंगेलका सुपुत्र स्व. श्यामदेव ढुंगेलको स्मृतिमा स्थापित स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिस्ठानले जेष्ठ नागरिकको कदर स्वरुप सम्मान प्रदान गरेको हो ।

 

 प्रतिस्ठानले समाजमा विध्यमान असल र कर्तव्यनिष्ठ अभिभावकलाई आदर्श अभिभावक सम्मान प्रदान गरेको प्रतिस्ठानका संस्थापक संरक्षक रामप्रसाद ढुंगेलले जानकारी दिएका छन् ।

 स्व. श्यामदेव ढुंगेलको योगदानको कदर गर्ने, वहाँका व्यक्तित्वको प्रचारप्रसार गर्ने, सरल स्वभावको कारण परिवार, सन्तान अनि समाजमा परेको प्रभावको बारेमा नयाँ पुस्तालाई सुसूचित गर्ने र स्व. श्यामदेव ढुंगेलको जीवनीमा आधारित एक बृत्तचित्र निर्माण गर्ने लक्ष्यसहित स्थापना भएको प्रतिस्ठानले पहिलो प्रयास स्वरुप सम्मान कार्यक्रम गरेको हो ।

स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिस्ठानले समाजमा स्व. श्यामदेव ढुंगेलजस्ता सरल, इमानदार र आदर्श अभिभावकहरुको पहिचान गरी हरेक पुसको ९ गते एक कार्यक्रम आयोजना गरी आदर्श अभिभावक सम्मान पुरस्कर वितरण गर्ने बताइएको छ ।

पुस ९ गते स्व. बुबा श्यामदेव र प्रतिस्ठानका संरक्षक छोरा रामप्रसाद ढुंगेलको जन्मदिन परेकोले सोही दिनमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

 यो सम्मान कार्यक्रमको लागि झापाको शिवसताक्षी नपा-६ को श्री जन आदर्श उच्च मावि र सुनसरीको इनरुवा नगरपालिकाको श्री देवकोटा प्रावि र भगवती मावि चयन गरिएको छ । उक्त विधालयमा स्व. श्यामदेव ढुंगेलका छोराहरु क्रमशः रामप्रसाद ढुंगेल, सन्जय ढुंगेल र राजु ढुंगेलले प्रारम्भिक शिक्षा शुरु गरेकोले पहिलो चरणमा उक्त स्कुलका आदर्श र जिम्मेवार अभिभावकलाई सम्मान प्रदान गरिएको हो ।  झापा को शिवसताक्षी -६ को श्री जन आदर्श उच्च माविमा उक्त सम्मान कार्यक्रम आयोजना गरिएकोले सोही विद्यालयका शिक्षक भक्तिप्रसाद काफ्लेको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

तीन अभिभावकको सिफारिस समितिले गरेको छ भने एक अभिभावकको सिफारिस दाताको परिवारले गर्ने सहमति भएको छ ।

यो सम्मान कार्यक्रम स्व श्यामदेव ढुंगेलको जन्मदिन र पुन्यतिथिको अवसर पारेर माथि छनौट गरिएका विध्यालयमा बर्सेनि आयोजना गरिनेछ । नियमित कार्यक्रम गर्न ढुंगेल परिवारले निश्चित रकम स्थानीय बित्तीय संस्थामा अक्षयकोसका रूपमा राख्ने र सोही रकमको ब्याजबाट झापा र सुनसरीका निर्धारित विध्यालयहरुमा कार्यक्रम आयोजना गर्ने प्रतिस्ठानका अध्यक्ष सन्जय ढुंगेलले बताएका छन् ।

सम्मान कार्यक्रमका बीचमा शिवसताक्षी न पा ६ नम्बर वडा कार्यालयको आयोजनामा अभिभावक शिक्षा कार्यक्रम पनि आयोजना गरिएको थियो ।

विध्यालयका प्रधानाध्यापक तुलसीप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि वडा -६  का वडाअध्यक्ष मनोज कार्की रहेका थिए ।