झापाको बाह्रदशीमा छठको सम्पूर्ण तयारी पूरा, आज खरना विधि गरिदै
जनक राउत
झापाको बाह्रदशीमा छठको सम्पूर्ण तयारी पूरा, आज खरना विधि गरिदै छ।छठ पर्वको दोस्रो दिन आज साँझ खरना विधि गरिँदै छ। शनिबारदेखि विधिवत रूपमा सुरु भएको छठ पर्वको पहिलो दिन ‘नहाय–खाए’ गरिएको थियो।
छठको दोस्रो दिन अर्थात् खरनाको दिन व्रतालुहरूले दिनभर निराहार बस्छन् र साँझपख शुद्धतापूर्वक खीर पकाई देउतालाई अर्पण गरेपछि प्रसादका रूपमा ग्रहण गर्छन्। यस विधिलाई ‘खरना’ भनिन्छ।
छठ पर्वको तेस्रो दिन सोमबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइनेछ भने चौथो दिन मंगलबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरी पर्व विधिवत रूपमा समापन गरिन्छ।
बाह्रदशीमा छठका तयारीहरू अन्तिम चरणमा पुगेका छन्। स्थानीयहरू नदी र कुवाहरूलाई सरसफाइ गर्दै झकिझकाउ बनाइरहेका छन्। घाट निर्माण र टेन्ट टाँग्ने कार्य सम्पन्न भइसकेको छ भने झिलिमिली बत्तीहरू सजाउने काम जारी छ।
बाह्रदशीमा राजगढका ब्रतालुले अदुवा, चकचकीका ब्रतालुले घाग्रा, र डाँगीबारीका ब्रतालुले बिरिङ्ग नदिका घाटहरूमा छठ पर्व भव्य रूपमा मनाइँदै छ।
छठ पर्व घरेलु उत्पादनमा आधारित हुने भएकाले व्रतालुहरूले आफ्नै खेतबारीमा उत्पादन गरिएको गहुँ, चामल आदिलाई धोई, पखाली, घरमै रहेको जाँतोमा पिसी त्यसको पीठोबाट पूजा सामग्री तयार गर्ने परम्परा रहेको छ।

