​परिधिका यी नदेखिएका रेखाभित्र
कति समयसम्म कैद बनूँ म?
कतै विचारका अग्ला पर्खालहरू छन्
कतै समाजले कोरेका भ्रमका सीमाहरू।
जहाँ स्वास फेर्न पनि नियम सोध्नुपर्छ
त्यो साँघुरो भूगोलबाट अब मलाई अलि पर पुग्नुछ।
​समयको नदी तटबन्धन बिना नै सुंदर बग्छ
अनि हावा कुन पहराको पर्खालसँग डराउँछ र?
तर मान्छेले आफ्नै सोचमा उभ्यायो छेक्बारहरू
आफैंले रचेको पिँजडामा आफैं अल्झिरह्यो।
म सम्भावनाको विराट महासागर हुँ
मलाई यो सानो पोखरीमा अटाउन खोज्नेहरू हो
मेरो चेतनाका गोरेटाहरू खोलिदेऊ
मलाई हदबन्दीहरूबाट मुक्त गरिदेऊ।
​मेरा गोडामा बाँधिएका अदृश्य साङ्ग्लोहरू
मेरा पखेटामा लगाइएका परम्पराका तगारोहरू
ती सबैलाई म समयको आगोमा पगाल्न चाहन्छु।
मलाई कसैको आदेशको परिधि चाहिन्न
मलाई त मात्र एक खुला, अनन्त आकाश चाहिएछ।
​जहाँ उड्नलाई कुनै नक्साको आवश्यकता नहोस
जहाँ खस्ने डरभन्दा माथि उठेको उडान होस्।
म आफैंलाई भेट्न चाहन्छु, म स्वयं बन्न चाहन्छु
यी सबै बन्धनहरूलाई किनार लगाउँदै
त्यो असीम र स्वतन्त्र शून्यमा बिलाउन चाहन्छु।

कवि लिला अनमाेल बिर्तामोड ,झापा