झापा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिर्तामोड नगर कार्यसमितिको सभापतिमा कुलप्रसाद संग्रौला निर्वाचित भएका छन्। सभापतिका लागि भएको निर्वाचनमा संग्रौलाले आफ्ना प्रतिस्पर्धी सूर्यप्रसाद कन्दङ्वालाई २९ मतले पछि पार्दै नगर सभापतिको जिम्मेवारी प्राप्त गरेका हुन्।

निर्वाचन अधिकृत केशवराज भण्डारीका अनुसार संग्रौलाले १८४ मत प्राप्त गर्दा कन्दङ्वाले १५५ मत प्राप्त गरे। यससँगै संग्रौला बिर्तामोड नगर कांग्रेसको नेतृत्वमा निर्वाचित भएका हुन्।

नगर कार्यसमितिको महिला उपसभापतिमा सीतादेवी दाहाल निर्वाचित भएकी छन्। दाहालले १८५ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी सुष्मा भण्डारी पौडेलले १३९ मत प्राप्त गरिन्।

खुला उपसभापति पदमा रमेश चौधरीले २२२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी सञ्जीब चापागाईलाई ११६ मतान्तरले पराजीत गरे । चापागाईले १०६ मत प्राप्त गरे ।

त्यस्तै, नगर सचिवमा आशिष वन निर्वाचित भएका छन्। वनले २१५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उत्तमकुमार कटुवालले १११ मत प्राप्त गरेको निर्वाचन परिणाममा उल्लेख छ।

सहसचिव पदको मतगणनामा भने प्रेमप्रसाद घिमिरे र राजेशबहादुर धिमालको मत बराबरी आएको छ। बराबरी मत आएपछि उक्त पदको अन्तिम टुंगो निर्वाचन समितिले तोक्ने प्रक्रिया अघि बढाउने जनाइएको छ।

निर्वाचनबाट संग्रौला सभापतिमा निर्वाचित भएसँगै बिर्तामोड नगर कांग्रेसले नयाँ नेतृत्व पाएको छ।