बिर्तामोड नगरपालिकाकाे १ अर्व ३८ कराेडकाे बजेट

बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० को बजेट प्रस्तुत गरेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार नगरपालिकाको हलमा आयोजित दोश्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उक्त बजेट प्रस्तुत गर्नु भएकाे छ।
बजेटमा आयतर्फ संघीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, संघीय सरकार राजश्व बाडफाँडबाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँड बाट १ करोड १७ लाख ११ हजार ४ सय ९०, यसैगरी यस नगरको आन्तरिक आयबाट रु १५ करोड र मालपोत रजिष्ट्रेशन शुल्कबाट ११ करोड गरी जम्मा ६५ करोड ५४ लाख ८१ हजार ४ सय नब्बे प्राप्त हुनेछ भने संघीय सशर्त अनुदान चालु तर्फ २६ करोड ७१ लाख तथा पुँजीगत तर्फ १७ करोड १८ लाख, बिशेष अनुदान २ करोड र समपूरक अनुदान १ करोड ३० लाख तथा प्रदेश सशर्त अनुदान ६१ लाख २३ हजार,समपूरक अनुदान १ करोड बजेट प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने विवरण सभामा प्रस्ताव गरिएको हो ।
चालु खर्चतर्फ प्रशासनिक खर्च, कृषि, पशुविकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिईने अनुदान, क्षमता विकास, सीप विकास तालिमहरु तथा लक्षित वर्ग, पँुजीगत तर्फ बहुबर्षे तथा क्रमागत योजनाहरुको निरन्तरता, शिक्षा, कृषि, पशुविकास तथा स्वास्थ्यका पूर्वाधारजन्य योजना तथा कार्यक्रम, सडक सुधार तथा हेभी इक्युपमेन्ट सञ्चालन, मर्मत सम्भार कोष, विपन्न आवास निर्माण कार्यक्रम, वडास्तरीय योजना तथा कार्यक्रमहरु, स्वास्थ्य केन्द्र तथा वडा कार्यालयहरुको भवन घेराबारा तथा मर्मत, फोहोरमैला व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन जस्ता योजना तथा कार्यक्रमहरुमा विनियोजन हुने गरि बजेट प्रस्ताव गरिएको छ।