असार १७, २०८

विनोद सापकोटा

झापा, झापाको शिवसताक्षी नगरपालिका–९ का १९ वर्षीय रोमन थापाको शंकास्पद मृत्यु भएको छ । आफन्तजनले उनलाई कुटपिटबाट शरिरका भित्रि भागमा गम्भीर घाइते बनाई ज्यान लिइएको आशंका गरेका छन् । घटनामा रोमनसँगै रहेका अर्का युवक आदित्य तामाङ पनि गम्भीर अवस्थामा अस्पतालको भेन्टिलेटरमा छन् ।

राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत आदित्य र मृतक रोमन मिल्ने साथी हुन् । उनीहरू नियमित रूपमा गाउँकै खेतको छेउमा फुटबल खेल्ने गर्थे । बर्खा लागेपछि खेल मैदान हिलो भएर प्रयोग गर्न नमिल्ने भएपछि उनीहरू अन्य स्थानमा फुटबल खेल्न जाने गरेका थिए । गाँउको खेतमा गोल खेल्न उनिहरु असार लाग्दै देखि छाडेको स्थानियले बताए ।

मृतका हजुरबुवा खेमबहादुर थापाका अनुसार घर नजिकैको खेतमा गोल खेल्न बन्द भएपछि उनिहरु संगम चोक तिर दिउँसो २—३ बजे देखि दिनहँु जान्थे । ‘कहाँ जान्थे भन्दैन थिए,’ हजुरबुवा ले भने । ‘तीन चार दिन देखि छाति दु्ख्यो भन्दै थियो । के भयो र दुख्यो भन्दा गोलको पोष्टमा ठोक्किए भन्थ्यो,’ हजुर बुवाले भने । ‘उ आफैले भन्थ्यो,’ ‘सामान्य हो निको होला भनेर दुईदिन बाटो हेरौं ।’ गत शुक्रबार राति हजुरबुवा र हजुर आमा रोमन सुतिरहेको ओछ्यानमा गए । उनि घोप्टो परेर दुखाई लुकाउदै सुतेका थिए । हजुरबुबाले भने ‘मैले तातोपानी दिए । पियो र उसैले लु अब तपाईँहरु सुत्न जानु म पनि सुत्छु भन्दै सुत्ने प्रयास गर्यो ।’ तर शनिबार बिहान उनको अवस्था गम्भीर हुँदै गएपछि सुरुंगास्थित प्राथमिक स्वास्थ्य केन्द्र लगियो । परिवारका अनुसार रोमन संग फुपु गएकी थिइन् ।

शिनिबारको दिन भएकाले त्यहाँ उपचार सम्भव नभएपछि उनलाई तुरुन्तै बिर्तामोडको बिर्ता सिटी अस्पताल लगियो । उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भयो । रोमनको शव आइतबार नै घर ल्याइएको थियो । वैदेशिक रोजगारमा रहेका उनका दाजु सुसन थापा दुबईमा थिए । भाइको अनुहार अन्तिमपटक हेर्न पाउनुपर्ने भन्दै उनले केही समय पर्खिन आग्रह गरेपछि अन्त्येष्टि रोकिएको थियो । त्यस्तै मृतककी श्रीमती प्रनिषा थापा पनि माइतीमा भएकाले उनको आगमनसम्म शव घरमै राखियो । शवको अन्त्येष्टि गर्ने तयारी भइरहेकै बेला गाउँमा रोमनको मृत्यु कुटपिटबाट भएको हुन सक्ने चर्चा फैलियो । ‘स्वस्थ, तन्दुरुस्त छोरा अचानक निधन हुनु रहस्यमय छ’, उनका बुबा चन्द्रबहादुर थापाले भने, ‘शरीरमा बाह्य चोटपटक देखिएन तर मुखबाट रगत बगिरहेको भन्ने हल्ला सुनेको छ्ु ।’ परिवार र स्थानीयवासीले घटनाप्रति शंका व्यक्त गर्दै सत्यतथ्य बाहिर ल्याउन माग गरे । उनीहरूको अनुसार रोमन र आदित्यको मृत्युको कारण सामान्य बिरामी वा स्वाभाविक मृत्यु मात्र होइन भन्ने धेरै संकेतहरू देखिएको छ । ‘फुटबल खेल्ने क्रममा अर्का समूहसँग वादविवाद भयो र त्यसपछि उनीहरू कुटपिटमा परे’ भन्ने हल्ला गाउँभर फैलिएको छ ।

स्थानीयवासीको अनुमानमा उनीहरूलाई पिट्न कम्तिमा आठ–दश जनाको समूह संलग्न हुन सक्ने सम्भावना छ । शवदाहको तयारी भइरहेकै बेला रोमनको मृत्यु शंकास्पद भएको जनाउँदै आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी गराए । प्रहरी र स्थानीय जनप्रतिनिधिको सुझावपछि शवको पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगियो । तर अस्पतालले पोस्टमार्टम गर्न असमर्थता जनाएपछि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । सोमबार समय अभावका कारण पोस्टमार्टम हुन नसकेकाले मंगलबार मात्र अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ ।

यता आदित्य तामाङको अवस्था पनि अत्यन्त गम्भीर रहेको बताइएको छ । बिएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । रोमन संगको समान लक्षण देखिएको र अहिले पनि अर्धचेत अवस्थाले घटनाको गम्भीरता झन् बढाएको छ । अस्पतालले रोमनको मृत्युको कारण निमोनिया र श्वासप्रश्वासमा देखिएको समस्या भनेको छ । तर परिवार र स्थानीयवासीले अस्पतालको रिपोर्टलाई शंका गर्दै गहिरो अनुसन्धानको माग गरेका छन् । घटनापछि प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाएको जनाएको छ । ‘शंका उत्पन्न हुनेबित्तिकै हामीले पोस्टमार्टमका लागि प्रक्रिया अघि बढाएका छौं,” प्रहरीका एक अधिकृतले भने,‘अब पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको वास्तविक कारण पत्ता लाग्नेछ ।’ स्रोतका अनुसार केही युवाहरूलाई प्रहरीले केरकार गरेर छाडेको छ । तर कुटपिट कहिले, कहाँ, कसरी र किन भयो भन्ने विषयमा प्रहरीले हालसम्म खुलाउन सकेको छैन ।

यद्यपि प्रहरीले सूक्ष्म अनुसन्धान भइरहेको दाबी गरेको छ । एक प्रहरी अधिकारीका अनुसार आदित्य माथि कुटपिट भएको आसंकामा हामीले केही युवक पक्राउ गरेका छौ । उनिहरुका अनुसार आदित्य माथि सांघातिक हमला भएको पक्राउ परेकाले स्विकार गरेका छन् । उनिहरु अहिले प्रहरीको अनुसन्धानमा छन् । मृतक रोमन र आदित्य एक दिन अघि पछि अस्पताल भर्ना भएका हुन् । रोमन विर्तासिटी अस्पतालमा भर्ना भएका थिए भने आदित्य विएण्डसी भर्ना भएका भएका थिए । दुबै जनाको शरिरको भित्री समस्या एउटै र समय पनि समान भएकाले धेरै कोणबाट उनिहरु दुबै जना कुटपिटमा परेका ह्न कि भन्ने हड्कल स्थानियको छ ।

मृतकका रोमनका आफन्तले घटनाको सत्यतथ्य बाहिर ल्याउन मानवअधिकारकर्मी र सञ्चारकर्मीहरूमार्फत अपिल गरेका छन् । ‘न्याय पाउन हामीले सत्य खोज्नैपर्छ,’रोमनका बुबा चन्द्रबहादुर भन्छन्, ‘छोराको आत्मा पनि शान्ति पाउँछ, यदि दोषीहरू कारवाहीमा परे भने ।’ घटनाले पुरै गाउँलाई स्तब्ध बनाएको छ । सत्यतथ्य र न्यायको पर्खाइमा रहेका परिवार, गाउँले र स्थानीय बासिन्दा अब प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टतर्फ ध्यान केन्द्रित गरिरहेका छन् ।