आमाकाे स्वागत नेपाल फर्काईएका छाेरा छाेरीलाई

आमाकाे स्वागत नेपाल फर्काईएका छाेरा छाेरीला
बाबु / नानी
किन मलिन छौ ?
थकित छौ ?
जिवनका घुम्ति संग डरायौँ कि ?
उचाईसँग ?
नौ डाँडा काट्दा, सानोमा आमाछोरा
देउरालीमा सुस्ताउँदै,
टाढा क्षितिजमा मधुरो बलेको दिपको उज्यालोमा
पहाड चडेको बिर्सियौ ?
बाबु,
थाहा छ तिमीलाई ?
सानोमा तिमी उभिने प्रयास गर्दा, कत्ति लड्यौ,
लड्दै उभियाै
यो सुगन्धित माटोमा
हिमकण मिसिएको हावा
कोशी र कर्णालीको अमृत पान गर्दै
नेपाली बनेर उभिन सक्ने भयौ ।
हिड्न सक्ने भयौ,
आफ्नो सपनामा उडान भर्दै
पार गर्यौ अमेजनको जंगल
नाघ्यौ मेक्सिकोको पर्खाल ।
बाबु,
अर्काको बारीमा
आफ्नो सपनाको बाली लगाउन नसकेपछी
पराधिनता भित्र आफ्नो नाम र स्वतन्त्र अस्तित्व बनाउन नसकेपनि ,
के भयो त लाटा ?
छदै छ त तिम्रो नाम र स्वाभिमानको सगरमाथा ।
सुस्ताउ एकछिन देउरालीमा,
उठ हाँस्दै – उठ।
जसरी सानोमा लड्दा तिमी हाँस्दै उठ्थ्यौ
त्यसरी नै
शीर ठाडो गरेर आउ
हाँसेर आउ
खुसी हुँदै आउ
आफ्नो घर आउ
बाबु,
स्वागत छ तिमीला।।
बुढी भएर हाेला मेरो छाला चाउरी परेको छ
ठुलो खेत र बारी पनि मजस्तै भएको छ
पसिनाले सिंचित गर र बहार ल्याउ बसन्तको
मेरो जवानी त फिर्ता हुदैन
तैपनि
म तिम्रो नाशो दिएर
सकुन संग बाच्न चाहन्छु सधै
चन्द्र सुर्य संग।
तिम्रो नाशो,
यो खेत खलियान
घँघरु ऐसेलु चिउरी अनि काफल
यार्सा चिराईतो र जटामशी
जानकी अनि मुक्तिनाथ
फेवा रारा अनि तिलिचो
यो लाली गुराँस र सुनाखरी
डाँफे र मुनाल
सारंगी मादल र बासुरी
देउडा मारुनी र साकेला
यो सभ्यता ईतिहास र संस्कृति,
यो मेची अनि काली
यो हिमशैल
बुद्ध अनि सगरमाथा
सगर्व मेरो हो भनेर
पंक्षिजस्तै स्वतन्त्र भई
उड्न आउ
उड्दै उड्दै
कहिले हिमाल चढौँला
कहिले पहाड
कहिले तराई झरौँला ।
आउ बाबु,
स्वागत छ तिमीलाई
तिम्रो आफ्नो देशमा ।।
जनक बस्नेत (सशस्त्र प्रहरी बल नेपाल प्रहरी नायब उपरीक्षक)