कांग्रेस महामन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

रश्मि शेखर सुवेदी बिर्तामोड ,झापा
प्रजातान्त्रिक सेनानी स्व. तुर्षा हेमरमका कान्छा सुपुत्र लुखिराम हेमरमको निधन भएकोछ । झापा गाउँपालिका -६ साविक शरणामती निवासी हेमरमको गत ८ गते राती निधन भएको हो । तुर्षाका २ भाई छोरा मध्ये जेठो बलरामको यस अघि नै निधन भैसकेको छ ।
बिहीबार कनकाई नदिमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले स्वर्गीय हेमरमको शवमा पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धान्जली दिनुभयो ।
आफ्नै निवासमा आराम गरिरहेको अवस्थामा हेमरमलाई हृदयघात भएको पारिवारिक स्रोतले जानकारी दिएकोछ । ५० वर्षीय हेमरमका ३ छोरी, २ छोरा र श्रीमती रहेकाछन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा बीपी कोइराला र सीके प्रसाईँ जस्ता नेताहरुको सानिध्यमा रहेर काम गरे वापत जेल, नेल तथा निर्वासन भोग्नु भएका तुर्षा हेमरमको परिवारमा परेको दुःखमा सिङ्गो नेपाली कांग्रेस साथमा रहेको झापा जिल्ला सभापति देउकुमार थेवेले बताउनु भएकोछ ।
यसै गरी नेपाली कांग्रेसका जिल्ला सदस्य स्व. विनोद बस्नेतको बिर्तामोडस्थित निवासमा पुगी महामन्त्री थापाले शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्नुभएको थियो । झापा जिल्ला सचिव कृष्ण हुमागाईंले वाचन गरेको समवेदना संदेश महामन्त्री थापा, संविधानसभा सदस्यद्वय सुधीर कुमार शिवाकोटी र नरेन्द्र कुमालले परिवारजनमा हस्तान्तरण गर्नुभएको प्रचार विभाग संयोजक शेखर सुवेदीले जानकरी दिनुभयो ।