बिर्तामोड ,५ अषाढ

भुटानी शरणाथी नेता डा.भम्पा राईको निधन भएको छ । ७५ वर्षीय राईको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पाँच दिन अघि हर्नियाको शल्यक्रिया गरेका राईको शनिबार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएको थियो । तत्काल दमकस्थित लाइफालाइन अस्पताल भर्ना गरिए पनि चिकित्सकहरुले त्यहाँबाट विराटनगर रिफर गरेका थिए । उपचारकै क्रममा उनको बिहान निधन भएको राईकी भाञ्जी गौरी राईले पुष्टि गरिन् । राईको स्वास्थ्यमा समस्या देखिएपछि दमकबासी चिकित्सक डा. बेदनिधी खतिवडाले शनिबार अपराह्न विराटनगर अस्पताल पुऱ्याएका थिए ।

तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका राई दमकमा एक्लै बस्दै आएका थिए । दुई वर्षअघि पत्नि उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका हुन् । राई पेट सम्बन्धी गम्भीर रोगबाट पीडित थिए । तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा महिनौं दिनसम्म थलिएका उनको तीन वटा शल्याक्रिया गरिएको थियो । पेटको शल्यक्रियापछि निकै लगेका राई पछिल्लो एक वर्ष हर्नियाबाटसमेत पीडित थिए । निकै दु:ख दिन थालेपछि पाँच दिनअघि गत मंगलबार दमकस्थित लाइफलाइन अस्पतालमा उनले हर्नियाको समेत शल्यक्रिया गराएका थिए ।

राईको पार्थिव शरीरको आज नै किरात संस्कारअनुसार दमक नजिकैको पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको जंगलमा अत्येष्टि गरिने जनाइएको छ ।