कृष्ण उदासी उर्लाबारी मोरङ।

कुनै कुनै कविता सङ्ग्रहहरू कहिलेकाही दोहोर्याएर पढिन्छ । दोहोर्याएर पढ्नुका धेरै कारणहरू हुन सक्छन् । मैले लिला अनमोलको यो कविता सङ्ग्रह ‘अन्तिम कुमारी रात’ फेरि दोहोर्याएर पढेँ । यो सङ्ग्रह दोहोर्याएर पढ्नुको कारण भनेको यसभत्रिका कविताले निर्माण गरेको भाइब्रेसन हो ।

यस सङ्ग्रहमा जम्मा ६४ वटा कविता छन् । हरेक कविता आफ्नै अस्तित्व बोकेर उभिएका छन् । प्रत्यक कविता पढिरहँदा कुनै खँदिलो वस्तु उचालेको महसुस हुन्छ । एउटा कविता पढिसकेपछि अर्को कवितामा प्रवेश गर्न एकछिन पर्खिनुपर्छ, किनकि पढिसकेको कविताको भाइब्रेसन उत्रिन एकछिन समय लाग्छ । जुन शीर्षकमा र जुन विषयमा कविता लेखिएका छन् त्यहाँ कवि निर्धक्क पोखिएको महसुस हुन्छ । प्रेम, विद्रोह, असमानता, देश र समाज जुन विषयमा लेखिएको कविता होस्, त्यहाँ कविको अठोट, हिम्मत र पारदर्शीता पाइन्छ । लिला अनमोलका कविताले उनको काव्विक क्षमताको प्रदर्शन गर्छन् । अर्थात् उनको दृष्टिकोण, बिम्बविधान, कवितामा प्रवाहित हुने शैली, गहिराईसम्म पुग्ने चेतना र प्रस्तुतिमा छुट्टै विशेषता छ । त्यही विशेषताले कविहरूको भिडमा उनलाई अग्लो उभ्याएको छ ।

लामो समयदेखि कवितामै साधना गरिरहेकी कवि लिला अनमोल कविताको गहिराई खोज्ने कवि हुन् । उनी एउटा कविताको उचाइबाट बाहिर निस्केपछि अर्को कवितामा उही उचाइ नाप्न सक्ने क्षमता राख्छिन् । कुनै पनि कविले प्रत्येक कवितामा उचाइहरूको ग्राफ निर्माण गर्न सक्नु चानचुने कुरा होइन । उनका प्रत्येक कविताले पाठकमा ‘ओहो !’ वाला प्रतिक्रिया स्वतः सिर्जना गर्छन् ।

‘अन्तिम कुमारी रात’ पुस्तकको नाम नै विल्कुल काव्विक छ । नामले नै पाठकलाई आकर्षित गर्न सक्छ, कौतुहलता सिर्जना गर्छ । पुस्तकको आवरणले पुस्तकको नामको गरीमालाई बोकेको छ । अझ गजपको कुरा त लीला अनमोलले यत्रो कृति तयारी पारेर प्रकाशन गर्दा पुस्तकमा कतै पनि आफ्नो भनाइ राखेकी छैनन् । यो पनि विल्कुल नयाँ अभ्यास लाग्यो मलाई । जे बोलेका छन् उनका ६४ वटा कविताले बोलेका छन् ।

झरी

…र झरी परिरहेछ निरन्तर
यसरी परिरहेछ कि
भिज्न बाँकी केही छैन
हृदयको उभारबाट
बर्सिएको छ पानी
र भरिएको छ प्रेमको तलाउ
यो बहार नाचेको समय
म तिम्रो सामीप्यतामा
संसार भुल्न चाहन्छु… ।

बेपर्वाह गरेर शरीरका अवयवहरूको
खित्किन मन छ एक फाँको मुस्कान
जिन्दगी मनोमानीहरूको राज हो भनेर
बुझिदिन मन छ केही बेर
र गरिदिन मन छ केही मिठा कमजोरीहरू
चोर्न मन छ खहरेको उत्ताउलो
र पोखिदिन मन छ तिम्रो सामुन्ने एक पटक
बगाएर तिमीलाई ।