मेरो माया गएछ तिमीसित

जीवनको किनारमा उभिएको बेला
छालले आफैलाई हुत्याउँदा
खै ! कता
मेरो मनभने
तिमीलाई नै सम्झिरहन्छ
मैले माया गरेको तिमी
तिमीलाई नै थाह छैन
तिम्रो र मेरो भेट
एक झलक पो थियो नि !
यो बाटो कहाँ जाने?
इसाराले सोध्यो मात्र
म पनि उतै जाँदै थिए
हामी साथै हिड्यौ एक निमेष
छुटेपछि थाहा लाग्यों-
मेरो माया गएछ तिमीसित
मेरो सदाबहार माया
मेरो अजम्मरी फूल
तिम्रो उपस्थितिको सामिप्य बेगर पनि
मेरो माया तिल जति घटेको छैन
बरु मेरै मायाको आभासले
म फक्रदो फूल हुन्छु बैंशको
जूनसँग गुणको कुरा गर्न सक्छु
‘दिनसँग उज्यालो मै हुँ’ भनिदिन सक्छु
मैले यात्रामा भेटेको तिमी
आँखा जुधाएर भन त –
त्यो मै हुँ एक अनुभूती ।
हो,तिमी नै हौ
मेरो जीवन प्रेरणाको आभास….
भावना सापकोटा,नेपालगन्ज