मोरङको पथ्री शनिश्चरेमाआज बिहान विवाहित युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारी स्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा विवाहित जोडी मृत फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे–५ का २१ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर भइ तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
दुवै जना विवाहित रहेको डिएसपि दाहालले बताए । घाँटीमा नाइलनको एउटै डोरीको पासो लगाएर रुखको हाँगोमा झुन्डिएको अवस्थामा बिहान १० बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ । मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको प्रहरीले जनाएको छ ।
मृत फेला परेकामध्ये अजयको घरमा पत्नी तथा ४ र २ वर्षका २ जना छोरा रहेको डीएसपी दाहालले बताए । जुबामुनीका डेढ वर्षका छोरा रहेको उनको भनाइ छ । दाहालका अनुसार अयजले जुबामुनीलाई गत आइतबार राति आफ्नै घरमा लिएर आएको पत्ता लागेको छ ।
अजयको घरमा खाना खाएर राति नै उनी निस्किएको पाइएको प्रहरीले जनाको छ । सम्पर्क र आउजाउको अवस्था हेर्दा दुवै जना प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
प्रेम सम्बन्धमा समस्या उत्पन्न हुनसक्ने देखेपछि दुवै जनाले सल्लाहमै आत्महत्या गरेको हुनसक्ने डीएसपी दाहालको भनाइ छ । ‘घटनास्थलको प्रकृति हेर्दा र प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले सहमतिमै आत्महत्या गरेजस्तो देखिन्छ । तर, थप कुरा यकिन भइसकेको छैन । घटनास्थल मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि पठाएकाे र थप कुरा अनुसन्धान भयो रहेकाे प्रहरीले जनाएको छ।