झापाको झापा गाउँपालिका–५ पन्थपाडाबाट प्रतिबन्धित लागूऔषध र मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९००९ नम्बरको सोमवार साँझ ६ः१५ बजेको समयमा मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक चालक अर्जुनधारा–५ का ३० वर्षीय प्रविण गिरी र सोही मोटरसाइकल पछाडी सवार कनकाइ–८ का २५ वर्षीय सुमन राजबंशी छन् । उनीहरुलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगर प्लाष्टिक बाहेक १० ग्राम १५ मिलिग्राम फेला परेको थियो ।

त्यसैगरी, झापा गाउँपालिका–१ लसुनामा सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदैं गरेको पाँचथरको फिदिम नगरपालिका –४ की १९ बर्षिया रदिमा बर्देवा र सोही स्थानकी १९ बर्षिया ईन्दिरा लिम्बुलाई शंका लागी चेकजाँच गर्दा ब्राउन सुगर प्लाष्टिक बाहेक १ ग्राम ६० मिलिग्राम फेला परेको थियो । मोटरसाइकलसहित ४ जनालाई नियन्त्रणमा लिएर सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।