नेपाली कांग्रेस कोशी प्रदेशको आयोजनामा कचनकबल–सगरमाथा जागरण अभियान आज नेपालकै होचो भूभाग केचनास्तम्भबाट शुरु

नेपाली कांग्रेस कोशी प्रदेशको आयोजनामा मुख्य ४ एजेण्डासहित कचनकबल–सगरमाथा जागरण अभियान आज नेपालकै होचो भूभाग केचनास्तम्भबाट शुरु भएको छ ।
सातमहिना (२०८२ असार २०) मा सम्पन्न गर्ने पूर्वतयारीसहित केचनास्तम्भ परिसरमा भब्य कार्यक्रमको आयोजना गरी शान्तिको प्रतीक परेवा र १४ जिल्लाको नाम अंकित बेलुन उडाएर अभियानको प्रारम्भ गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अभियानले विचार, संगठन र कार्यगत एकताको सन्देश दिएको बताउनुभयो ।
विकासका दृष्टिकोणले झापाको दक्षिणी क्षेत्र पछाडि परेको बताउँदै नेता सिटौलाले १० बर्षअघि बहुबर्षे योजनामा परेको कचनकबल रिङरोड र जमूना खोलाको पूल अझै नबनेको बताउँदै त्यसका लागि बजेट विनियोजन गरेर निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो ।
जनताको आर्थिक समृद्धि र जीवनस्तर सुधारका लागि अब राजनीतिक दलबाटै क्रान्ति शुरु गर्नुपर्ने बताउँदै देशको भौगोलिक, जातीय, सांस्कृतिक विविधता र सबै जातजातिको संरक्षणबाट मात्रै राष्ट्रिय स्वाधिनताको संरक्षण हुने र त्यो कांग्रेस पार्टीकै नेतृत्वबाट सम्भव हुने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं विशेष अतिथि विश्वप्रकाश शर्माले ०८४ को निर्वाचन अघि नै संविधान संसोधनको विकल्प नरहेको बताउँदै राजनीतिक स्थायित्वका लागि सबै दललाई विश्वासमा लिएर संविधान संसोधन गर्नुपर्ने बताउनुभयो ।
‘राणा शासनपछि कुनै पनि प्रधानमन्त्री ५ बर्ष टिकेका छैनन’–उहाँले भन्नुभयो–‘प्रत्यक्षमा प्राप्त सिटसंख्या र समानुपातिकमा प्राप्त मतका आधारमा पहिलो दलले सरकार चलाउने ब्यवस्था संविधानतः सुरक्षित गर्नुपर्छ ।’
समानुपातिक कोटामा विषयविज्ञलाई लैजानुपर्नेमा जोड दिदै प्रतिनिधिसभाका सदस्य रहनुभएका शर्माले २०४६ सालपछि बाटो, विजुली, सूचना प्रविधि, शिक्षा, स्वास्थ्यका क्षेत्रमा भएको विकास र समृद्धिलाई जनतासमक्ष पु¥याएर गर्न बाँकी काम पनि हाम्रै पालामा सम्भव छ भन्ने सन्देशसहित जनतामा आशा र विश्वास जगाउनुपर्ने धारणा राख्नुभयो ।
पार्टीका सहमहामन्त्री भिष्मराज आङदेम्बेले सबै भ्रष्टाचार काण्डका फायल खोल्न ढिलाई गर्नुनहुने बताउँदै अख्तियारले भ्रष्टाचार मुद्धाका फायल खोल्न नसके उच्चस्तरीय संसदीय समिति बनाएर छानविन गरी दोषीमाथि कारबाही गर्नुपर्ने धारणा राख्नुभयो । यसो नगरे राजनीतिक दलको पहिचान हराउने र दलप्रतिको जनविश्वास घट्ने उहाँको भनाई थियो ।
अभियानको औचित्यमाथि प्रकाश पार्दै नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्वव थापाले संगठन सुदृढीकरणमार्फत पार्टीभित्रको गुट–उपगुट अन्त्य गरी समग्र एकता कायम गर्ने, प्रजातन्त्र प्राप्तिका लागि पार्टीका अग्रज नेतृत्वहरुले गरेको इतिहासको खोजी र अभिलेखीकरण गर्ने, जनताको आर्थिक समृद्धि र विकासका आधारको अध्ययन र जलबायु परिवर्तनका पहिचान मुख्य चार एजेण्डा लिएर अभियान प्रारम्भ गरिएको जानकारी दिनुभयो ।
मुलुकमा राजनीतिक परिवर्तन भएपनि अब जनताको समृद्धिका आधार खोजी गरेर आर्थिक क्रान्ति नगरे राजनीतिक दलहरुको अस्तित्व संकटमा पर्ने बताउँदै नेता थापाले १४ जिल्लाका जनताको समृद्धिका आधार खोज्न अभियान थालिएको दोहो¥याउनुभयो । अब राजनीतिक दलहरुलाई नयाँ ढंगले चलाएर जनजीविकासँग जोडिने खालका कार्यक्रमहरु ल्याउनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टीका केन्द्रीय सदस्यहरु डा. डिला संग्रौला, लक्ष्मी परियार, हसन अन्सारी, कोशी प्रदेशका १४ जिल्लाका सभापतिहरु, नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका सचेतक गोपाल तामाङ, कोशी प्रदेश उपसभापति रमेशजंग रायमाझी, झापा क्षेत्र नंम्बर ३ का सभापति गणेश पोखरेल, कचनकबल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलगायतले मन्तब्य राख्नुभएको थियो ।
कोशी प्रदेश सभापति थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत प्रदेशमन्त्री भुमीप्रसाद राजवंशीले र धन्यवाद ज्ञापन झापा सभापति देउकुमार थेवेले गर्नुभएको झापा सचिव नवीन विमलीले जानकारी दिनुभयो ।ओमसाई पाथीभरा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा लगभग १२ सय जनाले स्वास्थ्य एवं आँखा उपचार सम्बन्धी सेवा लिएको नेपाली कांग्रेस कचनकबलका सभापति तुलाराम अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएकोमा २८ पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा पञ्चेबाजा, साकेला, च्याब्रुङ, लाखेनाच, तामाङसेलो, गुरुङ, मुस्लिम, राजवंशी, गन्दर्भ, राजवंशी, सन्थाल, थारु लगायतका जातजातिको संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो