उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिँदै कागजमा भन्दा पनि परिणाम देखिने गरी काम गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको हो ।

उपप्रधानमन्त्री लामिछानेले लागुऔषध दुव्र्यसनलगायतका समाजमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रभाव पार्नेजस्ता विषयमा सुरक्षा निकाय निर्मम भएर लाग्नुपर्ने बताउनुभयो ।

गृहमन्त्री लामिछानेले आफू हिजोका दिनमा जवाफ माग्ने ठाउँमा रहेको तर आज जवाफ दिने ठाउँमा आइपुगेकाले देशमा जवाफदेहिताको प्रवर्द्धनमा सदैव ध्यान दिने पनि बताउनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जिल्लाको सुरक्षा स्थिति र चुनौती एवं गरिएका प्रयासलगायतका विषमा गृहमन्त्री लामिछानेलाई जानकारी गराउनुभएको थियो ।