नेवार समुदायको लाखे नाच पछिल्लो समय सबै समुदाय बीच लोकप्रिय बन्दै

२०७९ साउन ३१,झापा ज्याेस्ना श्रेष्ठ

नेवार समुदायको संस्कृतिमा पर्ने लाखे नाच पछिल्लो समय सबै समुदाय बीच लोकप्रिय बन्दै गएको छ ।
सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपाल, भुगोलको दृष्टिले विश्वमा सानो भए पनि प्राकृतिक , धार्मिक र सास्कृतिक रुपमा विश्व मै धनी फरक पहिचान भएको मुलुकमा पर्दछ ।
बहुजाती र बहुभाषिको बाहुल्यता रहेको हाम्रो समाजमा बिभिन्न जातजातिका आ आफ्ना धर्म र मौलिक परम्परागत मान्यता बोकेका संस्कृतिहरू छन् ।
कति पय पराम्परागत संस्कृतिहरू लोप भएर गएका छन् भने कतिपयको जगेर्नामा पछिल्लो पुस्ता लागि परेका छन् ।
हामी संग हाम्रा पुर्खाहरुले परापूर्व कालदेखि मनाउँदै आएका पराम्परागत धार्मिक र सांस्कृतिक महत्वका अनगिन्ती संस्कृतिहरू विधमान छन् । हाम्रा कतिपय संस्कृतिहरु आफैमा सुन्दर र आकर्षक छ ।
यस्ता सुन्दर र आकर्षक संस्कृतिहरूले हामी नेपालीहरुको मात्र होइन विदेशी आगन्तुकहरुको समेत मन छुन सफल भएको छ ।
त्यस मध्ये नेवार समुदायको संस्कृतिमा पर्ने लाखे नाच जसले धार्मिक र सांस्कृतिक दुवै महत्व बोकेको विश्वास गरिन्छ ।
लाखे नाचको सुरुवात काठमाडौं उपत्यकाबाटै भएको जनविश्वास छ
। त्यस पछि विस्तारै बाहिरी जिल्लाहरुमा पनि लाखे नाच नचाउन शुरु भएको मानिन्छ । काठमाडौं उपत्यकामा इन्द्रजात्राको बेलामा लाखे नाच नचाउने चलन छ ।
जसलाई मजिपातलाखे भनिन्छ । यो विषेश पर्वमा नचाउने गरिन्छ ।
धार्मिक विधिविधानले यसलाई सम्पन्न गरिन्छ ।
उपत्यका देखि बाहिर नेवार समुदायको बसोबास रहेको विभिन्न जिल्लाका मुख्य शहरहरूमा नचाउँने
नाचलाई गुणिला लाखे भनिन्छ ।
यसलाई धार्मिक विधिविधान आवश्यक पर्दैन । यसमा सबै जाति तथा समुदायले सहभागिता जनाउन सक्छन् । जुन बेला पनि यसलाई नचाउँन सकिन्छ ।
विषेश गरी उपत्यका बाहिरका जिल्लाहरुमा नाग पञ्चमीका दिन देखि विधिवत रूपमा लाखे नाच नचाउँन शुरु गरिन्छ ।
नाग पञ्चमीको दिन देखि विधिवत रूपमा उदघाटन शुरु गरेर नाचलाई श्रीकृष्ण जन्माष्टमीका दिन सम्म निरन्तरता दिईनछ ।
यसै विचमा पितृ पक्ष गाईजात्रा पर्व पनि पर्दछ।
किंवदन्ती अनुसार पुत्रशोकले भाव विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भनी बुझाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई
आ–आफ्नो परिवारमा दिवंगत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिए देखि नेवार समुदायमा परिवारमा दिवंगत भएकाहरुको गाईजात्रा निकाल्ने परम्परा चलिआएको हो भन्ने मान्यता छ।
पितृको सम्झनामा नेवार समुदायले जात्रा पर्व मनाउने गर्दछन्।
दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिको कामना गर्दै गाईजात्रा पर्व मनाउने गरिन्छ ।
गाईजात्रा पश्चात अष्टमीका दिन दिन भरको प्रदर्शनी पश्चात राति विधिवत रूपमा लाखे नाचलाई विसर्जन गर्ने चलन छ ।
टाउकोमा मुकुट लगाएर देवी देवताका पहिरनमा परम्परागत् बाजागाजा सहित नाच्दै बजार र चोक परिक्रमा गर्दा सबै उमेर समूहका मानिसले मनोरञ्जन प्राप्त गर्दछन् ।
लाखे नाच हेर्न बजार तथा चोकमा मानिसहरूको ठूलो घुइँचो नै लाग्ने गर्दछ ।
काठमाडौं उपत्यकामा लाखे नाचको चलन कहिले र कसको पालादेखि शुरु भयो भन्ने कुरामा मतभेद रहेको पाइन्छ ।
कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनेका छन् भने कसैले नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क राखेका छन् ।
नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भनिएता पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने शुरु भएको मानिन्छ ।
संस्कृतिविदहरुका अनुसार लाखेनाच रणबहादुर शाहको पालामा बिफर फैलिएर सिकिस्त विरामी परेकाहरुलाई नेपाल मण्डलाबाट निकाला गरिएका थिए ।
निकाला गरिएका नेवारहरुले आफ्ना कथा व्यथालाई नाचको माध्यमबाट व्यक्त गर्ने परम्परा बसालेका हुन् भनेका छन् ।
विभिन्न मतविभेदका बाबजुद अध्ययनकर्ताहरुले परापूर्वकालमा मानव सभ्यताको विकाससँगै यसको शुरुवात भएको बताउँदछन् ।
एकाइसौं शताब्दी , आधुनिक युग सगै भित्रीएका नयाँ प्रविधि विकास , सोच सगै परिवर्तित समाज र जीवन शैलीका कारण कति पय हाम्रा संस्कृतिहरूले निरन्तरता पाउन नसकेर लोप भएको अवस्थामा पछिल्लो समय लाखे नाचले सबै समुदायको मन छुन साथै लोकप्रियता कमाउन सफल भएको छ ।
यसले पौराणिक संस्कृति झल्को दिनुका साथै सबैलाई फरक खालको मनोरञ्जन प्रदान गर्दछ ।
अग्रजहरूले लाखे नाच लोप हुन लागेको र युवा पुस्ताले यसमा चासो नदिएको भन्दै चिन्ता व्यक्त गरिरहेको बेला सबै क्षेत्रका नेवार समुदाय सस्कृति जोगाउन र नयाँ पुस्तालाई संस्कार सिकाउन भनेर ठूलो मेहनत गरिरहेका छन् ।
यतिखेर मुलुकका विभिन्न जिल्लाहरू तथा मुख्य बजार र चोक चोकमा लाखे नाच प्रदर्शन भैरहेको बेला पुर्वी जिल्ला झापाका नेवार समुदाय, विभिन्न नेवार संघ संगठनले सस्कृति संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले लाखे नाच प्रदर्शन गरिरहेका छन् ।
झापाको बिर्तामोडनगरपालिका , अर्जुनधारा , मेचीनगर लगायत धेरै स्थानहरूमा नाच प्रदर्शन भैरहेको छ ।
यसैगरी ईलाम सदरमुकाम लगायत जिल्लाका विभिन्न बजार , चोकहरु तथा नेवार बस्तीहरूमा विगत लामो समयदेखि लाखे नाच प्रदर्शन हुदै आएको छ ।
यस बाहेक दोलखा, भोजपुर , कास्की,पनौती , धुलिखेल , ओखलढुङ्गामा लाखे नाच प्रदर्शन भैरहेको छ ।
अनेकौं विविधता र संस्कारहरू बीच एकतामा रमाउने हामी नेपाली ।
हामी माझ विधमान यस्ता मौलिक र परम्परागत , धार्मिक र सांस्कृतिक महत्वका चाडपर्व झाकी तथा नृत्यहरूको संरक्षण र सम्बर्द्धन गर्न जरूरी छ ।
हाम्रा असंख्य संस्कृतिहरूका कारण विश्वमा हामी फरक छौ , फरक पहिचानको बलियो आधार तयार पार्ने जिम्मेदारी हाम्रै हो ।
एैतिहासिक, धार्मिक, संस्कृति, सम्पदा संरक्षण र सम्बर्द्धन गरी , मुलुकलाई विदेशी पर्यटकहरूको रोजाइको गन्तव्य बनाउन सके , पक्कै पनि मुलुकको अर्थ व्यवस्थामा सुधार ल्याउन सकिन्थ्यो ।