एक वर्षीया बालिकालाई अपहरण गर्ने दुई जना पक्राउ
विराटनगरबाट एक वर्षीया बालिकालाई अपहरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर-५ की अनु साह र विराटनगर ६ रामपुर बस्ने २७ वर्षका रविन्द्रकुमार साह रहेका छन् ।
रविन्द्रकुमार साह अपहरणको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । दुई जनाको मिलेमतोमा बुढीगंगा-१ बस्ने दिपेन यादवकी १ वर्षकी छोरीलाई विराटनगर १२ रोड शेष चोक छेउबाट गत साउन २ गते बिहान ९ बजे अपहरण गरेका थिए ।
उनीहरुले बालिकालाई भारतमा लुकाएर १५ लाख फिरौती माग्ने योजना बनाएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । २ वर्षदेखि चिनजानमा रहेकी अनुले योजनाबद्ध रुपमा दिपेन यादवलाई बच्चा हेर्न मन लागेको भन्दै बोलाएकी थिइन् ।
यादवले पनि आफ्नो १ वर्षे बालिकालाई कारमा लिएर अनुलाई बच्चा देखाउन रोडशेष ल्याएका थिए । त्यही क्रममा चिया खाने निउ बनाएर अनुले दिपेनको आँखा छलि बच्चा लिएर भागेकी थिइन् । अनुसन्धानका क्रममा अनुले बच्चा लिएर आउँदा रविन्द्र साह मोटरसाइकल लिएर स्टेण्डबाइ बसेको खुलेको प्रहरीले जनाएको छ ।
त्यसपछि रविन्द्र साहले मोटरसाइकलमा दुहबी इनरुवा, सप्तरीको राजविराज हुँदै कुनौली पुर्याई, उक्त स्थानबाट भारतीय गाडी रिजर्भ गरी दरभंगा पठाएर सोही दिन विराटनगर फर्केका थिए ।
भारतको दरभंगामा अनु साहले बच्चालाई लिएर दुई दिनदेखि बस्दै आएकी थिइन् । खोजी गर्ने क्रममा आज बिहान ८ बजे नेपाल भारतको बोर्डर एरियाबाट अपहरित बालिकाको सकुशल उद्धार गरिएको र अनुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
यस्तै घटनाका योजनाकार रविन्द्र साहलाई भने बुढीगंगा १ स्थित निजले संचालन गरेको श्रीराम टेडर्सबाटै प्रहरीले पक्राउ गरेको थियो । उनीहरु दुवैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
फौजदारी संहिता २०७४ अनुसार निज प्रतिवादीहरुलाई ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाखसम्म जरिमाना हुने व्यवस्था छ । प्रहरीले उनीहरुको साथबाट ५ थान मोबाइल, बेबी फिडिङको खाली प्याकेट १ थान, मोटरसाइकल १ थानलगायत बरामद गरेको छ ।