भदौ १०,बिर्तामोड झापा ,

सामजिक संस्था बिर्तामोड राउण्ड टेवल २७ ले झापाकाे बिर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयमा कक्षा कोठा निर्माण गरेको छ । पूर्वाधार अभावमा विद्यार्थीको अवस्था दयनीय भएको पाइएपछि राउण्ड टेवलले कक्षा कोठा निर्माण गरिदिएको हो ।

विद्यार्थीको सुविधाका लागि दुईवटा कक्षा कोठा निर्माण गरिएको बिर्तामोड राउण्ड टेवल २७ का अध्यक्ष अमित अग्रवालले बताउनु भयाे । राउण्ड टेवलले आज बिहान पत्रकार सम्मेलन गरी कक्षा कोठा निर्माणबारे अवगत गराएको हो ।

चौविस लाख रुपैयाँको लागतमा दुईवटा कक्षाकोठा र विद्यालय परिसरको पाँच कठ्ठा जग्गामा कम्पाउण्ड वाल निर्माण गरिएको राउण्ड टेवलका सूचना अधिकारी दीपक मित्तलले बताउनु भएकाे छ। उहाका अनुसार यसवर्ष विद्यालयमा दुईवटा शौचालय र खानेपानी व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।

भदौ १३ गते बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई र राउण्ड टेवल नेपालका अध्यक्ष आनन्द वायतिले संयुक्तरुपमा कक्षा कोठा विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे छ ।

पूर्वाधार व्यवस्थापन अभावमा विद्यार्थीको संख्या नघटोस् भन्ने उद्देश्यले कक्षा कोठा बनाएर विद्यालयलाई हस्तान्तरण गर्न लागिएको सूचना अधिकारी मित्तलले बताउनु भयाे। यसअघि बिर्तामोड राउण्ड टेवल २७ ले बिर्तामोडको अनारमनी आधारभूत विद्यालयमा कम्प्युटर ल्याव, खानेपानी र पंखा व्यवस्थापन गरेको थियो । तीन लाख रुपैया वरावर काे सामान हस्तान्तरण गरेकाे थियाे।यसले फ्रिडम टु एजुकेसनको नारा बोकेको छ ।

सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने अभियानमा पूर्वाधार व्यवस्थापनका लागि यो संस्थाले सघाउँदै आएको निवर्तमान अध्यक्ष सुमित साहेवालाले बताउनु भयाे।

कक्षा कोठा निर्माणका लागि बिर्तामोड नगरपालिकासहित विभिन्न बैँक तथा वित्तिय संस्थाले सहयोग गरेका छन् ।