सिलगढ़ी, १९ मार्च । असमका सिद्धहस्त लेखक रण काफ्लेको ‘मत्स्यकन्याको मुलुकमा’ नियात्रा कृतिको अंग्रेजी संस्करण ‘इन द कन्ट्री अव् दि मत्स्यकन्या’ हालै १४ मार्चको दिन नेपालको राजधानी काठमाडौंमा भव्य कार्यक्रमबीच विमोचन गरियो। भारतको पश्चिम बङ्गालका एक अनुभवी अनुवादक प्रदीप रसाइलीद्वारा अंग्रेजीमा अनुवाद गरिएको उक्त पुस्तक ‘साहित्यपोस्ट डट् कम’, भक्तपुर, नेपालद्वारा प्रकाशित गरिएको हो।
काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा पुस्तककी प्रमुख पात्रा तथा नेपाल माझी उत्थान सङ्घकी अध्यक्ष चिनी माया माझी, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, अनुवादक प्रदीप रसाइली एवं साहित्यकार नन्दु उप्रेतीले आ-आफ्नो मन्तव्य राखेका थिए।
नियात्रा कृतिकी मुख्य पात्रा चिनी माया माझीले आफ्नो भनाइमा लेखक रण काफ्लेले माझी समुदायलाई केन्द्रमा राख्दै उक्त समुदायसित सम्बन्धित विषयवस्तुलाई लिएर पुस्तक लेखेका हुनाले माझी समुदायप्रति उनको उल्लेखनीय योगदान पुगेको विचार राखिन्। उक्त पुस्तकको नेपाली संस्करण बितेको वर्ष नै पाठकहरूका हातमा आइसके पनि यो अंग्रेजी संस्करणको विमोचन कार्यक्रममा पनि सहभागी हुन पाउँदा आफू भावुक बनेको कुरा उनले बताइन्।
साहित्यकार नन्दु उप्रेतीले यस पुस्तकमा नेपालको माझी समुदायको जनजीवनसित सम्बन्धित कुराहरूलाई सामेल गरिएको हुनाले यस कृतिको अंग्रेजी अनुवादबाट अन्य धेरै देशहरूका पाठकवर्गले नेपाली समाज र संस्कृतिबारे थप महत्त्वपूर्ण कुराहरू बुझ्ने अवसर पाउनेछन् भन्ने विचार व्यक्त गरे। अनुवाद साहित्य ज्ञानको आदान–प्रदानका लागि उपयोगी माध्यम भएकोले यस कृतिबाट पनि धेरै पाठकहरू लाभान्वित हुने उनले विश्वास व्यक्त गरे।
अनुवादक प्रदीप रसाइलीले समाजसेवाको क्षेत्रमा चिनीमाया माझीको उल्लेखनीय योगदान भएको बताउँदै लेखक रण काफ्लेले कृतिमा उनलाई प्रमुख पात्रका रूपमा प्रस्तुत गरेको बताए। उक्त पुस्तक नियात्रा विधामा लेखिए पनि चिनी माया माझीको जीवनमा आएका उतार-चढ़ाउहरूसँगसँगै माझी समुदायको जीवनशैली र सामाजिक सन्दर्भलाई केन्द्रमा राखिएको उनको भनाइ थियो। यस पुस्तकले नेपालका विभिन्न पर्यटन स्थलहरूको पनि थर प्रचार र प्रवर्द्धन गर्न सक्ने उनले विचार व्यक्त गरे।

साहित्यपोस्टका प्रधान सम्पादक आश्विनी कोइरालाको अध्यक्षतामा आयोजित विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार, साहित्यानुरागी, पत्रकार, सङ्गीतकार तथा समाजसेवीहरूको बाक्लो र उल्लेखनीय उपस्थिति रहेको थियो।