बिहे गर्ने प्रस्ताव अस्वीकार गर्दा हत्या

बिहे गर्ने प्रस्ताव अस्वीकार गर्दा झापाको अर्जुनधारा ६ मा ५० वर्षीया माया पुलामी मगरको हत्या भएको खुल्न आएकाे छ। माघ ८ गते बिहान ६ बजे अर्जुनधारा–६ बिहानीटोल ब्याडमिन्टन कबर्डहलको गेटछेउमा मृत भेटिएकी ५० वर्षीया माया कार्की (पुलामी मगर) लाई बिर्तामोड ८ स्थायी घर भई हाल बिर्तामोड ५ मा बस्दै आएका ४६ वर्षीय प्रसाईंले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न बिर्तामोड ८ गरामनी स्थायी घर भई बिर्तामोड ५ मा डेरा गरी बस्ने ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
अविवाहित प्रसाई कामको सिलसिलामा भारतको आसाम डिब्लुगढमा १७ वर्ष काम गरी २०७२ सालमा बिर्तामोड फर्किएका थिए । उनी बिर्तामोड ५ हर्कलाल मार्ग स्थित दिलु मुखियाको निर्माणाधीन घरमा कामको सिलसिलामा अस्थायी बस्ने गरेका थिए ।
प्रसाईको माघ ६ गते माया र उनको साथी एन राईसँग बिर्तामोड १ पश्चिम स्टेण्डमा भेट भएको थियो । एन राईले प्रसाई र मायाबीच शारीरिक सम्वन्ध राख्न सहमति गराई प्रसाईले आफ्नो कोठामा लगेर निर्माणाधीन घरको दोस्रो तलामा शारीरिक सम्बन्ध राखेका थिए ।
सोही समयमा मायासँग माघ ७ गते राति भेटने सल्लाह भएको र प्रसाईले मायालाई खोज्दै उनी बस्ने ठाउँतिर जाँदा अर्जुनधारा ६ पुलचौकमा मायासँग भेटघाट भई गफगाफ गर्दै घटनास्थलतर्फ लगेको उनको बयानमा छ ।
केही समयपछि बीग ब्रदर लेखिएको व्याटमिन्टन खेल्ने हलको ढोका छेउमा बसी कुराकानी गर्ने क्रममा प्रसाईले मायासँग विवाह गर्ने प्रस्ताव गर्दा मायाले प्रसाईको दाहिने आँखामा हातले हानेकी थिइन् । आँखामा चोट लागेपछि प्रसाईले मार्ने नियत राखी सडकमा रहेको ढुङ्गा टिपी मायाको टाउकोमा पटक पटक प्रहार गरी हत्या गरेका थिए ।
ढुंगा शव रहेको ठाउँबाट उत्तरतर्फ बारीमा फ्याँकेको र फरार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी सुरज कार्कीले बताउनु भयाे। प्रसाईलाई हिजो पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
मृतक पलामिका तीनवटा श्रीमान रहेको बुझिएको प्रहरीले जनाएको छ । उनी जेठो श्रीमानतर्फका छोरासँग बस्दै आएकी थिइन् । उनका पहिलो श्रीमान बस्नेत थरका, दोस्रो बुढाथोकी थरका र तेस्रो श्रीमान कुमार पुलामी मगर रहेका छन् ।
उनी घटना भएको केही दिनअघि छोराबुहारीको घर छाडेर अर्जुनधारा ६ मा गाउँघरमा काम खोज्दै बस्दै आएकी थिइन् । उनी दिनहुँ मदिरा सेवन गर्ने गरेको प्रहरीले जनाएको छ ।
