झापाको अर्जुनधारा-४ दहीझाेडामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ । सुखानी सहीदमार्गदेखि केही तल दहीझाेडा खोला किनारको खेतमा वयस्क हात्ती मृत फेला परेको हो ।

खबर पाउनासाथ वन कार्यालयसहितको प्रहरी टोली घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले बताए ।

रेन्जर राजेश घिमिरेका अनुसार राति ३ वटा हात्ती आएका थिए । ‘दुईवटा हात्ती बिहानै जंगल छिरे पनि एउटा चाहिँ रन्थनिएर लडेको स्थानीयले देखेका रहेछन्’, घिमिरेले भने,‘हात्तीको मृत्युको कारण अनुमान गर्न सकिएको छैन् ।’

हात्तीको शरीरमा घाउ तथा चोटपटक केही छैन् । के कारणले मर्‍यो भन्नेबारे अनुसन्धान शुरु भएको गरिएको छ । जंगल क्षेत्र नजिकैको बस्तीका बासिन्दाले बालीनाली जोगाउन करेन्ट छाड्ने गर्छन् । हात्ती करेन्ट लागेरै मरेको हो या होइन‚ पोस्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुने छ ।

यसअघि झापाको बुद्धशान्ति गाउँपालिका-५ आयाबारीमा पनि १० दिनअघि एउटा हात्ती मृत भेटिएको थियो । श्रृंखलाबद्ध रुपमा हात्ती मारिने क्रम बढेको छ ।